बिहीबार, चैत १५, २०८०

जुम्लामा विद्युत् नियमित र व्यवस्थित गर्न दबाब दिँदै काठमाडौंमा सांस्कृतिक र्‍याली

नेपालखोज २०७८ मंसिर २१ गते १७:५४

काठमाडौं । जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिदैँ जुम्लाका जनताले काठमाडौंमा सांस्कृतिक र्‍याली निकालेका छन् । आज जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्‍याली निकालेका हुन् ।

स्थानिय झाँकी, बाजागाजा र नाँचगानसहित र्‍याली गरिएको थियो । जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक-पटक विद्युत प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित र्‍याली गर्नु परेको प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले बताए ।

जुम्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको भएपनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा बिस्तार हुन नसकेको उनले बताए । कर्णालीको समस्या पटक-पटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको उनले दुखेसो गरे ।

‘र्‍यालीमा हामीलाई बत्तिको मिटर देउ, ट्रान्सफरमरको व्यवस्था गर, मलाइ पनि बत्तिमा पढ्ने रहर छ, हाम्रो खोलाको पानि त्यसै बग्यो, घर भने अध्याँरो छन्, बत्तिमा भोल्टेज पनि हुनुपर्छ हो है’ लगायत लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

त्यसैगरी जुम्लाका सम्पूर्ण बस्तीहरुमा विद्युत प्रशारण लाइनको बिस्तार गर्न र विद्युत प्रशारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटरलगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापन पत्र समेत बुझाइएको छ । ¥यालीसहित नेपाल विद्युत प्राधिकरणमा पुगेका जुम्लाका जनताले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापन पत्र बुझ्न प्राधिकरणको आँगन बाहिर नै बोलाएका थिए ।

कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापन पत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो । यद्यपी कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिवद्धता गरे । जिल्लाभरी विद्युत विस्तारको लागि टेन्डर गर्न लागेको पनि उनले बताए ।

ज्ञापन पत्रमा ३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शिघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभिए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्नेलगायतका माग पनि गरिएको छ ।

प्रतिक्रिया