बिहीबार, वैशाख ६, २०८१

नेपाल उद्योग परिसंघले सार्वजनिक गर्‍यो मेकइन नेपालको वेबसाइट र मोबाइल एप

नेपालखोज २०७८ मंसिर २१ गते १८:२१

काठमाडौं । नेपाल उद्योग परिसंघले मेकइन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मलेन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो ।

गत फागुन महिनाको २४ गते तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरेका थिए । यस अभियान अन्तर्गत हालसम्म ४० वटा कम्पनीहरु आवद्ध भएका छन् । ती कम्पनीहरुबाट उत्पादन हुने वस्तु तथा सेवाहरुमा स्वदेशी अभियानको लोगो हुनेछ ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मेकइन नेपाल अभियानले उत्पादनमूलक अर्थतन्त्रका साथै मुलुकभित्र रोजगारी र पूँजी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उद्योगमैत्री वातावरण कसरी बनाउन सकिन्छ भनि आफूहरुले काम गरि रहेको बताए । त्यसका लागि हालसम्म ३४ वटा समूहहरु पहिचान गरेको र जसमध्य १० वटामा यही बर्षदेखि काम सुरु गर्ने जानकारी दिए ।

पूर्वाधारसँग सम्बन्धी काम सुरु भइ अगाडी बढी सकेको बताउदैं सरोकावाला निकाय तथा विज्ञहरु सँगको छलफल पछि काम अगाडी बढाउनेसमेत उनले जानकारी दिए । मेकइन नेपाल अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।

त्यस्तै, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत, २०३० सम्ममा २६ प्रतिशत योगदान पु–याउने र हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गरी पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पुर्‍याउनेलगायतको लक्ष्य लिइएको छ ।

प्रतिक्रिया