सोमबार, जेठ ६, २०८२

सिन्धुपाल्चोककाे कोइरालटारमा सामूहिक आलुखेती

नेपालखोज २०७८ मंसिर २२ गते ८:०१

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् । नयाँपानी भूमि अधिकार कृषक समूह र सीडीसीएफकाे सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वर्ष २० बोरा आलु रोपिएको हो ।

किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्‍याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सीडीसीएफले जनाएको छ । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न समूहमार्फत आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए ।

महिला आत्मनिर्भरताको सुनिश्चितताका लागि महिलाहरूको ७० प्रतिशत सहभागिता रहेको उनले बताए । यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलुखेती गर्ने किसानले यस वर्ष भने परियोजनाअन्तर्गत व्यवसायीकरण आलुखेती गरेका हुन् । परियोजनाले किसानलाई आलुखेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र कृषि प्राविधिकसमेत सहयोग गर्ने छ ।

चौँरी कृषकलाई उपकरण वितरण

जिल्लाको जुगल गाउँपालिकाका माथिल्लो भेगमा चौँरीपालन गरी जीविकोपार्जन गरिरहेका कृषकलाई व्यावसायिक प्रोत्साहनका लागि मङ्गलबार विभिन्न उपकरण वितरण गरिएको छ । उनीहरुलाई छुर्पी बनाउने उपकरण, घ्यू छुट्याउने उपकरण, पोर्टेवल सोलार सेट, त्रिपाललगायतका सामग्री वितरण गरिएको हो ।

सो पालिकाको तेम्बाथान, क्याङसिङ, गुम्बा, पागर्पुका ६२ परिवार चौँरीपालक किसानलाई सो उपकरण हस्तान्तरण गरिएको गाउँपालिका प्रशासकीय अधिकृत लोकबहादुर विकले बताए । रासस

प्रतिक्रिया