सोमबार, जेठ ६, २०८२

कांग्रेसमा यसरी चयन हुँदै छ केन्द्रीय नेतृत्व

नेपालखोज २०७८ मंसिर २२ गते ११:०८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ (पर्सि शुक्रबार) गतेबाट सुरु हुँदै छ । देश संघीय संरचनामा गएपछि कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारीसहित १६७ जनाको केन्द्रीय समिति चयन गर्नेछ ।

कांग्रेसको १४औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सह-महामन्त्री (क्लस्टर) बाट चयन हुनेछन् । कांग्रेसको संशोधित विधानअनुसार सह-महामन्त्रीहरु विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ ।

महाधिवेशनबाट निर्वाचित भएका केन्द्रिय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ । १४औं महाधिवेशनबाट कम्तिमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गर्ने व्यवस्था विधानमा छ ।

समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरी २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातिबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेसीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट एकजना गरी ५४ जना केन्द्रीय सदस्य चुनिनेछन् । यसमा अपांगता वा अल्पसंख्यक समूहबाट एक केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य विधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरु महिला, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राख्दै मनोनयन गर्नुपर्नेछ । निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन् । समावेशी र समानुपातिक सिद्धान्तअनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ, अनि मात्रै ३३ प्रतिशत महिला केन्द्रीय सदस्यमा पुग्नेछन् ।

प्रतिक्रिया