ए डिभिजन लिग : मच्छिन्द्रको जीत, हिमालयन शेर्पा र पुलिस बराबरीमा रोकिए

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबविरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले दोस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गर्दा जावलाखेलका सिमान्त थापाले मच्छिन्द्रलाई उपहार गोल दिए । १४औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । छिरिङ गुरुङले क्रस गरेको बल सिमान्तलाई लाग्दै बल गोलमा परिणत भएको थियो ।
अग्रता पाए पछि उच्च मनोबलका साथ खेलको मच्छिन्द्रले २१ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । बाँकी सयममा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकने र मच्छिन्द्रले स्पष्ट जित निकाल्न सफल रह्यो ।
जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन । खेलबाट मछिन्द्रका रंजित धिमाल म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ थाप्दा इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।
लिग अन्तर्गत दिनको पहिलो खेलमा पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको हो । बलियो मानिएको पुलिस विरुद्ध हिमालयनले पहिलो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी बक्स भन्दा बाहिरबाट गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो ।
त्यसपछि दबाबमा परेको पुलिसका मान बहादुर परियारले १४औं मिनेटमा गोलको अवसर गुमाउँदा बराबरी अवसर खेर पुगेको थियो । ४७औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए । दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गर्दा पुलिसले खेल बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि स्पष्ट अंकका लागि स्पष्ट अंकका लागि संघर्ष गरेको पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बन्यो ।
प्रतिक्रिया