‘नेपालको राजनीति परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक पार्टीहरुबीच एकता हुन जरुरी’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बिचमा एकता हुनु जरुरी रहेको बताएका छन् ।
शुक्रवार नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक पार्टीहरुले एक्लै हिड्ने अहंकार गर्नु नहुने बताए । देशको परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी लगायतका लोकतान्त्रिक पार्टीहरुका बिचमा गहिरो एकता हुन जरुरी रहेको उनले बताए ।
उनले हालसम्म प्राप्त गरेका राजनीतिक सफलता एकता र गठबन्धनको परिणामस्वरुप प्राप्त भएको उल्लेख गर्दै एक्लै हिड्ने अहंकार गर्न खोज्दा एक्लै हिड्न खोज्नेको ओरालो यात्रा सुरु हुने बताए । कांग्रेसले लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा समझदारी कायम गर्ने, सुशासन र विकासको युगतिर लैजाने सन्दर्भमा उचित नीति निर्धारण गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।
अध्यक्ष प्रचण्डले पार्टीहरु सरकारमा जाँदा जनताको अगाडी गरेका प्रतिवद्धता अनुसार व्यवहार गर्न नसकेकाले यसको सम्बन्धमा सबैले आत्मसमिक्षा गर्नुपर्ने बताए । उनले पार्टीहरु सत्तामा पुगेपछि प्रतिवद्धताबाट विचलित हुने, भ्रष्टाचार रोक्न नसक्ने र विकृति र विसंगतिको शिकार हुने गरेकाले यस विषयमा सबैले खोजी गर्नुपर्ने बताए ।
उनले लोकतन्त्रको निम्ति संघर्ष गरेका राजनीतिक दल र दलका नेताहरुलाई बद्नाम गरेर निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र गर्न लागिएको भन्दै त्यसका विरुद्ध सर्तक रहन जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया