मंगलबार, वैशाख १६, २०८२

महाधिवेशन प्रतिनिधि भन्छन् : ‘दह्रो पार्टी बनाउन नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ’

नेपालखोज २०७८ मंसिर २५ गते ११:१०

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरुले संगठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंहले २१ औँ शताब्दीमा समयसँगै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताएका छन् । यसपटकको महाधिवेशनको नारा पनि ‘उत्साह, एकता र रुपान्तरण’ रहेको छ ।

कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ । ‘कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ’ , सिंह भन्छन् ।

नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरु अगाडि आउनुपर्ने बताउँछिन् । ‘पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन सबल र सक्षम बन्न सक्छ’, उनी भन्छिन् ।

पुराना नेताहरुले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरे पार्टी थप सवल र सक्षम बन्न उनको भनाइ छ । शीर्ष नेताको सहमति बिना नयाँ नेतृत्व आउँदा पाटी कमजोर हुने गुरुङको भनाइ थियो ।

कास्की क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री देशलाई आधुनिक समाज र पुस्ताले चाहेजसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् ।

उनी भन्छन् , ‘उमेरले भन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट संगठनलाई सुदृढ बनाउँदै पार्टीभित्र मात्र होइन देश रुपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो’।

कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताउँछन् । ‘अग्रजको सल्लाह,युवा र महिला दिदिबहिनीको साथ लिएर पार्टीलाई रुपान्तरण गर्नु आजको आवश्यकता हो’, उनी भन्छन् ।

प्रतिक्रिया