मंगलबार, वैशाख २५, २०८१

कांग्रेस महाधिवेशनमा उम्मेद्वारी दर्ता गर्ने क्रम जारी

नेपालखोज २०७८ मंसिर २५ गते १५:०४

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेद्वारी मनोनयन प्रक्रिया जारी छ । दिउँसो १ बजेसम्म सभापति पदको उम्मेद्वारमा एक जनाको मात्र उम्मेद्वारी परेको छ ।

कांग्रेस सभापतिका लागि कल्याण गुरुङले उम्मेद्वारी मनोनयन गरेका हुन् । सह–महामन्त्रीमा तीनजनाले उम्मेदवारी दिएका छन् । मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे र फर्मुला मनसुरले उम्मेद्वारी मनोनयन गरेका केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिएका छन् ।

उनका अनुसार केन्द्रीय सदस्यतर्फ अपांग कोटामा तीन, अल्पसंख्यकमा एक र मुस्लिम कोटामा एकजनाको उम्मेद्वारी परेको छ । लुम्बिनी प्रदेशका लागि एक, गण्डकीका लागि एक र सुदूरपश्चिम प्रदेशका लागि एक तथा थारू कोटाबाट दुईजनाले उम्मेद्वारी मनोनयन गराएका छन् ।

त्यसैगरी, वाग्मती प्रदेशबाट दुई, मधेसी कोटाबाट चार, कर्णालीबाट दुई तथा आदिवासी जनताजातितर्फबाट ११ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।

विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ । केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसार फरक\फरक गरी कूल २० स्थानमा मानोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ ।

प्रतिक्रिया