नेपाल उद्योग वाणिज्य महासंघले बुधबार कोभिड पश्चातको नव उत्थान सम्मेलन गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्दैछ ।
विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।
कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने छ । सम्मेलनको मुख्य थिम बदलिंदो परिस्थितिमा तिव्र र दिगो आर्थिक वृद्धिको विकास रहेको छ ।
सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ ।
सम्मेलनको प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा हुने छन् । महासंघको सचिवालय टेकुमा मंसिर २९ गते बुधबार, बिहान ९ः३० बजेदेखि सुरु हुने सम्मेलन साँझ ६ बजेसम्म चल्ने छ । सम्मेलनको उद्घाटन शत्रलाई माननीय अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संवोधन गर्ने छन् ।
उद्घाटनपछिको पहिलो शत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुुत गर्नुहुने उक्त शत्रमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफनो धारणा राख्ने छन् ।
अर्को प्राविधिक शत्र निर्यात प्रवद्र्धनका विषयमा हुनेछ भने सो शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्ने छन् । महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुुत गर्नुहुने उक्त शत्रमा निर्यातकर्ता सुनिता शेर्पाले आफनो धारणा राख्ने छन् ।
त्यस्तै अर्कोशत्र लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धनका विषयमा हुने छ । उक्त शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले गर्ने छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
उद्यमी श्याम वदन श्रेष्ठ र आइएलओ जेनेभाबाट एसएमइज विज्ञले आफनो धारणा राख्नु हुनेछ । चौथो शत्र पर्यटन तथा मनोरन्जन क्षेत्रको हुने छ । उक्त शत्रको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गर्नेछन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यपत्र प्रस्तुुती गर्नुहुने छ । वरिष्ठ कलाकार निर्देशक निर विक्रम शाहले मन्तव्य राख्नेछन् ।
समापन कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निश्कर्ष प्रस्तुत गर्ने छन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थमन्त्रालयका सचिव डा. मधु मरासिनीले संवोधन गर्नेछन् ।
प्रतिक्रिया