७ हजार टन रासायनिक मल भन्सारमै अलपत्र !

काठमाडौं । किसानका लागि ल्याइएको सात हजार टन रासायनिक मल वीरगन्ज भन्सारमा एक वर्षदेखि अलपत्र परेको छ । गत वर्ष किसानहरुले धानबालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार भएको थियो । सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन हुनुका साथै पानीमा भिजेको भन्दै भन्सार पास नहुँदा वीरगन्जस्थित सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको हो ।
सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकाता बन्दरगाहमा धेरै समय रोकिएको थियो । कोलकाता बन्दरगाहमा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकाताबाटै ‘ड्यामेज’ भएर उक्त मल नेपाल ल्याइएको थियो । कोलकाता भन्सारमा छाड्न नमिलेकाले वीरगन्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र फालिएको छ ।
‘ड्यामेज’ भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । नेपाल इन्टरमोडल यातायात समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले भने ‘उतैबाट मल बिग्रिएर आयो, यहाँ भन्सार पास भएन । यत्रो धेरै परिणामको मल व्यवस्थापन गर्न अफ्ठयारो पनि छ । अहिले यहीँ अलपत्र रह्यो ।’ उनका अनुसार मलले गोदाम मात्रै ओगट्ने र व्यवस्थापन पनि गर्न नसिकएकाले बन्दरगाहको खाली भू-भागमा अलपत्र तरिकाले मल फालिएको हो ।

अलपत्र रुपमा फालिएको मल गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो । आर्थिक वर्ष ०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार टन मलका लागि सम्झौता गरेको थियो । उक्त मल २०७७ असोज १८ गते बन्दरगाह २३ सय टन डीएपी र भदौ पहिलो साता २५ सय टन (५० हजार बोरा) मल आइपुगेको थियो । आइपुगेका ‘ड्यामेज’ नभएका केही मल भने भन्सार गरेर उठाइएको थियो ।
सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमै अलपत्र रुपमा कामै नलाग्ने गरी फालिएको छ भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बारीमा हाल्न पाएका छैनन् ।


प्रतिक्रिया