शुक्रबार, वैशाख २८, २०८१

विवेकशिल साझा पार्टी भन्छ- पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र-जिम्मेवारीपूर्ण

नेपालखोज २०७८ मंसिर २७ गते १७:१४

काठमाडाैं । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त पार्टीले विज्ञप्ति जारी गर्दे भनेकाे छ, विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ’धितोपत्र बोर्डः साम्राज्यवादको विकसित रूप’ भनि दिएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्छ । पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक-पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ । आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी सेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो ।

पुँजी बजार कुनै बाह्य प्रभाव बिना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ । यस तथ्यलाई मनन गर्दै आफ्नो भनाइ तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ ।

त्यसैगरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया