ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० जनाको मृत्यु, २० हजारभन्दा बढी विस्थापित

रियो डि जेनेरियो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् ।
प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ ।
यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ । धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् ।
केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ । यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया