मंगलबार, वैशाख १६, २०८२

मतदानमा स्वविवेक प्रयोग गर्न कोइरालाको आग्रह

नेपालखोज २०७८ मंसिर २८ गते १५:००

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज (मंगलबार) पत्रकार सम्मेलनमा डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बजेदेखि हुन लागेको दोस्रो चरणको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेकले मत हाल्नुपर्ने बताए ।

महाधिवेशनका प्रतिनिधिहरु आफैं नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै नेता कोइरालाले मतदानमा आफ्नो विवेक प्रयोग गर्न र आफ्नो मनको अन्तरआत्माले भने बमोजिम मतदान गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने र नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने धारणा पनि व्यक्त गरे ।

नेता कोइरालाले आफूले कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरेको जनाए । कांग्रेसलाई व्यवस्थित ढंगले अगाडी बढाउने प्रयास गर्ने पनि उनले उल्लेख गरेका छन् । कांग्रेसभित्र रुपान्तरण र पुनर्जागरण ल्याउने आफ्नो एजेण्डालाई तार्किक निष्कर्षमा पुर्याउने उनको भनाई छ ।

नेता कोइरालाले दोस्रो चरणको निर्वाचनबाट आउने जुनसुकै परिणाम सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र बृहत्तर एकताको प्रयास गर्ने बताएका छन् । नेता कोइरालाले आफ्नो सम्पूर्ण जीवन देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित भविष्य तथा आगामी पुस्ताको सुखद् जीवनको लागि खर्च गर्ने प्रतिवद्धता व्यक्त जनाए । नेता कोइरालाले पहिलो चरणको निर्वाचनमा आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया