संसद् अवरोध गर्ने कामलाई निरन्तरता दिनु पार्टीको बाध्यता : सांसद् चौधरी

नेपालखोज २०७८ मंसिर २८ गते १८:५३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौंधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन् ।

सचेतक चौंधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको टिप्पणी गरेकी हुन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभामुख सापकोटाले संसदीय दलले कारबाही गरेका कुनै पार्टीका सांसदहरुको सूचना २४ घण्टा नबित्दै जारी गर्ने तर आफ्नो दलको भने अझै जारी नगरेको भन्दै आपत्ति जनाएकी छन् । उनले सभामुख सापकोटाकै पक्षपातपूर्ण व्यवहारका कारण संसद बैठक सूचारु हुने अवस्था नरहेको बताइन् ।

नेकपा एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्काशनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । सचेतक चौंधरीले पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैर कानुनी हुने भएकाले उनीहरुको उपस्थिति रहुन्जेल संसद बैठक सूचारु हुन दिन नसकिने अडान पनि राखिन् ।

प्रतिक्रिया