शनिबार, वैशाख १५, २०८१

प्रजातन्त्र पर जानका लागि हो ?

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ फागुन ७ गते ८:००

प्रजातन्त्र जनताले जनताको लागि शासन गर्ने व्यवस्था भए पनि नेपालको हकमा प्रजातन्त्र नेता वा राजाले देशका जनतालाई शासित गर्ने परिपाटीको रुपमा विकास भइरहेको छ । जनताका तहमा पनि प्रजातन्त्रको हुर्काई बढाईमा समस्या अनेक छन् तथापि माथिल्ला नेतृत्वका टाउकेहरुले अझै राणाहरुले झैं प्रजातन्त्रको घाँटी निमोठ्ने काम गरिरहेका छन् । देशले कति प्रजातान्त्रिक अधिकार पाएको छ त्यो त भविष्यको इतिहासले नै व्याख्या गर्ला । देशमा प्रजातन्त्र आएको सात दशक पार गर्दै छ, तर देश अझै राजनैतिक संक्रमणको पेरिफेरिमा रुमल्लिरहेको देख्दा हरेक नेपाली जनताले दुख मान्नु स्वाभाविकै हो ।

विश्वभरी प्रजातन्त्रका लागि संघर्ष गरिरहेको समयमा नेपालमा पनि प्रजातन्त्रको संघर्ष भएको थियो । उही समयमा स्वतन्त्र राजनैतिक अधिकार पाएका कोरिया जापान र भारत आज विश्वको लोभलाग्दो अर्थतन्त्रको उदाहरण बनिसकेका छन् । तर, नेपाल अझै पनि राजनैतिक अधिकारको लागि लडिरहेको छ । यस्तो लामो राजनैतिक संघर्ष उत्पन्न गराउनमा हामी नेपाली जनता नै त खराब भएर त होइन कतै ? प्रजातन्त्र हामीले कति उपयोग गर्यौं ? वा उपभोग पो गर्यौं कि ? प्रजातन्त्र पर जा तन्त्र त भएकोे छैन ? पर जा तन्त्र भएकै कारणले त होला नेपाली जनताले पर अर्थात् विदेशमा काम गर्न जान बाध्य भएका ?

पर जा तन्त्र प्रजातन्त्र हओस् भन्ने सबैको सोच छ । तर, प्रजातन्त्र पर जा तन्त्रमै सीमित भइरहेको छ । नेपाली जनताले मुग्लान भासिएर, भोट धाएर, कतार मलेसिया डुलेर पर जा तन्त्रको भरपुर आनन्द लिईरहेका छन् । यो पर जा तन्त्रलाई बरु वर आ तन्त्र बनाउन पाएको भए कति आनन्द हुन्थ्यो होला ?

जनताले आफ्ना प्रतिनिधि आफैं छान्ने र उनीहरुबाट आफ्नो काम गराउने शासन व्यवस्था प्रजातन्त्र भए तापनि जनताले प्रतिनिधि छान्ने व्यवस्थामा मात्र प्रजातन्त्र सीमित छ । जनताले प्रतिनिधि त हरेक चुनावमा छानेका छन् । तर, ती जनप्रतिनिधिहरुले जनताको भावना आकांक्षा अनुरुप काम गर्ने परिपाटी हामीकहाँ विकसित हुन पाएको छैन । जनताबाट अनुमोदित भएपछि उसमा कस्तो एउटा शक्ति अउँछ अनि ऊ शासक बन्न जान्छ । मानौं ऊ महासामन्त राजा हो । ऊ शक्तिउन्मादले पिर्के सलामी थाप्दै हिँड्छ र प्रजातन्त्रको छातीमा गोली प्रहार गर्छ ।

मुलुकले प्रजातन्त्र पाएको सत्तरी वर्ष सकिँदै गर्दा पनि दलहरु राजनैतिक अधिकारका लागि ओली सरकारसँग लडिरहेका छन् । जस्तो पहिले राणाहरुसँग नेपाली जनताले लडे । जस्तो पञ्चायतसँग तीन दशक लडे । जस्तो राजासँग एकदशक घम्साघम्सी नै पर्यो । वर्तमानमा ओलीका कारण अर्को एक दशक घम्साघम्सी पर्ला भन्ने अर्को खतरा पैदा भएको छ ।

प्रजातन्त्रका लागि लडेका योद्धाहरु आज बुढा भइसके । पञ्चायचतका विरुद्ध लड्ने बा का पुस्ताहरु बुढ्यौलीका क्रममा छन् । गणतन्त्रका लागि लडेका भनिएकाहरुको पनि कपाल फुल्नै लागेको छ । हरेक दश वर्षमा नेपाली जनताले संघर्ष र बलिदानी दिईरहँदा पनि फेरि प्रजातन्त्रकै लागि लड्नुपर्छ भने प्रजातन्त्र के का लागि ? पर जानका लागि हो ?

प्रतिक्रिया