शनिबार, जेठ ५, २०८१

उपराष्ट्रपतिको आग्रह- स्वदेशी हस्तकला प्रयोग गरौं

नेपालखोज २०७८ मंसिर २८ गते १९:१३

काठमाडौं । नेपाल हस्तकला महासंघ ५०औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्सव वर्षभरि विभिन्न प्रवर्द्धनमूलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ ।

काठमाडौंमा मंगलबार आयोजित स्वर्ण महोत्सवको घोषणा, १०औं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरे । उनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

उनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामग्री प्रयोग गर्न आग्रहसमेत गरे । नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उपराष्ट्रपति पुनले भने, ‘नेपाल सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिँदै आएको छ, यसमा हस्तकलासमेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्वर्द्धनसमेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ जुन हाम्रा लागि गौरवको कुरा हो ।’

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासंघले स्वर्ण वर्षभरि हस्तकला व्यवसायको प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाइन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमूलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्कासन गर्ने जानकारी दिए ।

त्यस्तै हस्तकलाले खेलेको भूमिकाबारे निबन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई सम्मान गर्दै जाने, वृक्षरोपणका कार्यक्रम सञ्चालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि अध्यक्ष शाक्यले बताए ।

हस्तकला महासंघका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठ वर्ष बितिसक्दा पनि नीति कार्यान्वयन नआएको उनले गुनासोसमेत गरे ।

कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षालगायत कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको उनले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

सो अवसरमा महासंघका संस्थापक अध्यक्ष सागरशमशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल शिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनीता शेर्पा, नरेशलाल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

महासंघका अध्यक्ष शाक्यका अनुसार ४९औं वर्षको यात्रामा महासंघले हस्तकला क्षेत्रको दिगो विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्युयोर्कमा प्रोडक्ट अफ नेपाल (पोन) नामक कम्पनी स्थापना र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

समान उद्देश्यका अन्तर्राष्ट्रिय संघ-संस्थासँग भातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासंघले विश्वकला परिषद् (वर्ल्ड क्राफ्ट काउन्सिल) को सन् १९९० मा सदस्यता लिई परिषद्‌बाट सञ्चालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । परिषद्‌को एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासंघले काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको थियो ।

महासंघका अनुसार संगठनलाई देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एक हजार सात सय क्रियाशील सदस्य छन् ।

प्रतिक्रिया