‘बाह्य शक्ति मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिका रुपमा चित्रण गरेका छन् ।
अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावी समेत गरे । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए । उनले उनीहरुको कनेक्सन कहाँ छ ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताए । अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकीर गरे ।
अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । उनले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ ।
सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उनले बताए । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।

प्रतिक्रिया