कांग्रेस महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइयो

नेपालखोज २०७८ मंसिर २९ गते १५:०३

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए ।

उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताए । पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।

मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मतगणना भने बाँकि छ । १४औँ पार्टी केन्द्रिय महाधिवेशनबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा विजयी बनेका छन् ।

पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५ उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो । जसमा शेरबहादुर देउवाले २,७३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कोईरालाले १,८५५ मत प्राप्त गरे ।

दोस्रो चरणका लागि भएको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २ हजार ३११ मतको आवश्यक पर्दथ्यो । खसेको मतमध्ये ३५ मत भने बदर भएको थियो ।

प्रतिक्रिया