बिहीबार, जेठ ३, २०८१

भरतपुर भ्रमण वर्षमा बाघ देखाइने

नेपालखोज २०८० भदौ ११ गते ५:४१

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षमा आउने पर्यटकका लागि प्रत्यक्षरुपमा बाघ देखाउन आवश्यक गृहकार्यका लागि निकुञ्जलाई आग्रह गरिसकेकी छिन् । निकुञ्जमा पाटेबाघ पाइन्छ । प्रमुख दाहालले आमनागरिकले सहजैरुपमा बाघ देख्न नपाउने भएकाले भ्रमण वर्षमा आउने पर्यटकका लागि बाघ देखाउने योजना बनाइएको बताईन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भ्रमण वर्षमा बाघ देखाउन सकिने बताए । हाल निकुञ्जको मुख्यालय कसरामा तीन बाघ खोरमा रहेका छन् । सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए ।

कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्काे देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रैभन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताए । सरकारी तवरबाट कानुन निर्माण गरी उद्धार गरिएका वन्यजन्तुलाई पर्या–पर्यटनमा जोड्नुपर्ने उनको भनाइ थियो ।

सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो । राप्ती र नारायणी नदी बीचमा रहेको भरतपुरको धेरै महानगरको सीमा क्षेत्रले निकुञ्जलाई छोएको छ ।

चितवन आउने पर्यटकको पहिलो रोजाइ निकुञ्ज हो भने देवघाट, नारायणी ‘सी बीच मोडल’, चौकीडाँडा, बीस हजारी ताल, गोलाघाट जस्ता पर्यटकीय गन्तव्य यहाँ रहेका छन् ।

निकुञ्ज घुम्न आउने पर्यटकमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दछन् । निकुञ्जको यसै क्षेत्रमा बढीमात्रामा एकसिङ्गे गैँडा, बाघलगायतका वन्यजन्तु पाइन्छन् ।

प्रतिक्रिया