विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र : शिक्षामन्त्री पौडेल

नेपालखोज २०७८ मंसिर २९ गते १९:४७

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाईको केन्द्र भएको बताएका छन् । काठमाडौं विश्विद्यालयको २७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भएको बताए ।

सहकुलपति समेत रहनुभएको उनले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दे सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए । ‘विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा ब्यक्तिको मार्गदर्शन थलो हो,’ उनले भने, ‘दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ ।’

विश्वविद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्र निर्माणका बाहक भएको बताउँदै उनले देश निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी दीक्षत विद्यार्थीको काँधमा रहेको बताए । ‘शिक्षित र सभ्य युवा नै राष्ट्र निर्माणका कर्णधार हुन्’, उनले भने’ ‘मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डो¥याउने जिम्मेवारी पनि तपाईकै काँधमा निहित छ ।’ समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विद्यार्थीहरु पढाईको खोजीमा बाहिर जाने नभइ अन्य देशबाट नेपाल आउने वातावरण श्रृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए ।

प्रतिक्रिया