‘माओवादीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत’

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् ।
प्रचण्डपथभित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाई छ । यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए ।
अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गरे । माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको उनले बताए ।
उनले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गरे । उनले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया