‘देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु हामीसँग छन्’

नेपालखोज २०७८ पुष २ गते १४:४२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताए ।

उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको समेत बताए । अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए ।

उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए ।

उनले सरकारले गुणस्तरलाई हेरर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नु पर्ने बताए । अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरण्लाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष नेपालले नेपालमा प्रति शेक्टर प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताए । उनले सामुहिकता र सहकारिताका साथ कृषिमा लागे सबैलाई लाभ हुने बताए ।

प्रतिक्रिया