‘महानगरपालिकाको विकासको निम्ति राजनीतिक तहमा कुनै मतभेद छैन’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताएकी छन् ।
शुक्रवार ललितपुर महानगरपालिकाको १०३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरुमा सबै राजनीतिक दलहरुबिच सहकार्य भइरहेको बताएकी हुन् ।
उनले महानगरपालिकाको विकासको निम्ति राजनीतिक तहमा कुनैपनि मतभेदहरु नभएको बताइन् । राजनीतिक विचार र आस्थालाई आफ्नै ठाउँमा राखेर राजनीतिक दलहरुले आफ्नो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारे ।
मन्त्री भुसालले ललितपुर महानगरपालिकालाई भौतिक पूर्वाधार, जनशक्ति, स्वच्छ वातावरणलगायतमा विकास गरेर सम्पन्न महानगरपालिका बनाउन सकिने धारणा राखे । महानगरको विकास र उन्नतिका निम्ति आफ्नो सदैव साथ रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया