बुधबार, वैशाख १७, २०८२

सह-महामन्त्रीमा पराजित मुख्यमन्त्री शाहीले देलान् त राजीनामा ?

नेपालखोज २०७८ पुष २ गते १७:३८

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नैतिकताको प्रश्न पेचिलो बन्दै गएको छ । बहालवाला रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि अन्य बहालवाला मन्त्री मुख्यमन्त्रीले पनि चुनाव हारे नैतिकता देखाउँछन् कि देखाउँदैनन् त्यो भने हेर्न बाँकी छ ।

शेरबहादुर देउवानिकट मानिने कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सह-महामन्त्रीको उम्मेद्‌वार बनेर पराजित भएका छन् । उनलाई डा. शेखर कोइराला समूहका बद्री पाण्डेले हराएका हुन् । विकासका हिसावले अन्य प्रदेशभन्दा पछि परिरहेको प्रदेशको कमान्ड सम्हालेका शाही कर्णालीको दोस्रो मुख्यमन्त्री हुन् ।

हिजो मात्रै महामन्त्रीमा चुनाव हारेका रिजालले राजनीति पुँजी बचाइराख्न पदबाट राजीनामा दिएको बताएका थिए । नेपाली राजनीतिमा नेताहरु पदकै लागि मात्र राजनीति गर्ने आरोप लागिरहेका बेलामा रिजालले नैतिक प्रश्नहरु उठे जस्तोसुकै पद छाड्न सक्ने सन्देश दिए ।

राजीनामा नदिए रिजालकै शैलीमा भन्ने हो भने शाहीले राजनीति पुँजी बचाउन नखोजेका हुन् ? सह-महामन्त्रीमा विजयी भएका पाण्डेले २४ सय ११ मत र पराजित मुख्यमन्त्री शाहीले २१ सय ३३ मत ल्याए । सह-महामन्त्रीका अर्का उम्मेद्‍वार चेतराज बजालले ९९ मत ल्याए ।

प्रतिक्रिया