कांग्रेस महामन्त्री शर्माले जिउँदो सहिद कायस्थलगायतलाई गरे सम्मान

नेपालखोज २०७८ पुष २ गते १८:०४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भुमिका खेलेर राज्यबाट आझेलमा परेका घाइतेहरुलाई भेटेर सम्मान ब्यक्त गरेका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएको दोस्रो दिन आज लोकन्थली पुगेर महामन्त्री शर्माले पार्टी तथा राजनीतिक परिवर्तनमा भुमिका खेलेका दुई घाइतेहरुलाई भेटेर सम्मान व्यक्त गरे।

काभ्रे जिल्ला कात्तिके देउराली घर भएका दिपेन्द्र गिरी जो तत्कालिन समयमा शंकरदेव क्याम्पसको विद्यार्थी नेता थिए । उनी २०५८ सालमा माओवादीको आक्रमणमा परि मेरुदण्डको समस्या झेलिरहेका छन् । उनलाई भेटेर शर्माले महामन्त्री हुनुमा घाइतेहरुको पनि योगदान रहेको भन्दै सम्मान गरे ।

शर्माले घाइते गिरीको घरमा पुगरेर खादा तथा मालाले सम्मान गर्दै आगामी दिनमा देशमा यस्तो द्वन्द्वको अवस्था आउन नदिने गरी राजनीतिमा सुधार गर्न समर्पित हुने जनाए । उनले कांग्रेसका सबै तहका नेताहरुले द्वन्द्वमा प्रताडना भोगेकाहरुलाई बिर्सन नमिल्ने भनाइ राखे ।

यस्तै कांग्रेस महामन्त्री शर्माले काभ्रे पुगेर ०६२\०६३ को जनआन्दोलनमा गम्भीर घाइते एवं जनआन्दोलनको जिउँदो सहिदको रुपमा चिनिने मुकेश कायस्थलाई पनि सम्मान गरेका छन् । कायस्थजस्ता राजनीतिक आन्दोलनमा घाइते हुनेहरुको अनुहारले आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने भएकाले आफुले सम्मान गरेको उनले बताएका छन् । महामन्त्री शर्माले पार्टीमा इमान्दार ढंगले काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया