अर्थविद्हरुले भने- मुलुकको अर्थतन्त्र गम्भीर संकट आउने गरी ओरालो लाग्यो

नेपालखोज २०७८ पुष २ गते १८:५८

काठमाडौं । अर्थविद्हरुले मुुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउने गरि ओरालो लागेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार ’नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’ अर्थविद्हरूसँग गरेको छलफलका क्रममा अर्थविद्हरुले अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएकाले मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थालेको बताएका हुन् ।

समितिको छलफलमा अर्थविद् डा.चन्द्रमणी अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दि आउने संकेत देखिएकाले विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताएका छन् । अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमि, मूल्य वृद्धि , बैंकहरुमा ब्याजदर बढ्दै गएको बताए । उनले यसरी विश्व अर्थतन्त्र नै संकटमा पर्ने अवस्था आएकाले त्यसको असर स्वाभाविक रुपमा नेपालमा देखिने बताए ।

अधिकारीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अर्थतन्त्रका सूचकहरु संकट उन्मुख देखिएको बताए । अहिले सरकारले विदेशी मुद्रा सञ्चिति राम्रो भएको,शोधान्नातर स्थिति राम्रो, चालु खातामा बचत रहेको र राजश्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताए ।

अर्थविद् अधिकारीले नेपालमा संघियता लागू भए पनि प्रणाली राम्रो नभएको बताए । उनले संविधानले नै संघिय संरचना भद्दा बनाएको बताए । उनले संघियताका कारण प्रशाशनिक हिसाव समेत ठूलो बन्दै गएको बताए । अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा मुलुकको थप समस्या आउने बताए ।

त्यस्तै अर्का अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक चंगुलले अर्थतन्त्र तहसनहस भएको बताएका छन् । उनले विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बनाएर अगाडी बढ्ने गरेको बताए । नेपालमा धेरै राजनीति मात्रै गर्ने तर, मुलुकको अर्थतन्त्रको विषयमा कुनै योजनाका विषयमा एजेन्डा नै बन्ने नगरेको बताए । उनले नेपालमा राजनीतिक दलहरु सबै आफ्नो स्वार्थ उन्नमुख काम गर्ने भएकाले पछिल्लो समय देशको अर्थतन्त्र तहसनहस भएको बताए ।

उनले नेपालका सबै राजनीतिक दलहरूको विदेश नीति, प्रतिरक्षा नीति र आर्थिक नीतिमा न्यूनतम साझा धारणा नभएकाले अर्थतन्त्र राम्रो बनाउनेका लागि आर्थिक नीती बनाउन जरुरी रहेको बताए । उनले नेपालको कुल ग्राहस्त उत्पादन जीडीपीकै आकारमा बैंकको निक्षेप रहेको बताए । यस्तो अवस्थाले गर्दा अहिले बजारमा तरलता संकट देखिनु स्वभाविक भएको बताए । सरकारले पूँजीगत खर्च बढाउन नसक्नु पुरानै खर्च गर्ने प्रणालीको निरन्तरता भएको क्षेत्रीले बताए ।

अर्थविद् डिल्लीराज खनालले बैंकिङ क्षेत्रको लगानी बढेको तर, उत्पादन मुलक क्षेत्रमा नगएकाले बजारमा तरलता अभाव भएको बताए । खनालले बैंक तथा वित्तीय क्षेत्रले कर्जा लगानी व्यापक बढाउने तर कर्जा लिएको निजी क्षेत्रले उत्पादन उद्योग,आर्थिक क्षमता विकास गर्ने क्षेत्रमा लगानी नभएकाले अर्थतन्त्रमा संकट आएको बताए । उनले बैंकिङ कर्जा आयातमा लगानी हुदाँ आयात बढेको र राजश्व पनि बढ्यो बताए । तर, सरकारले राजश्व बढाएर पनि राजश्व बढे अनुसार पुँजीगत खर्च बढाउन नस्कनु दुखद् भएको खनालले बताए ।

त्यस्तै अर्थविद् डा.पोषराज पाण्डेले सरकारी निकायबाट हुने अर्थतन्त्रको मूल्याकन यथार्थवादी हुनुपर्ने बताएका छन् । डा. पाण्डेले सरकारले आर्थिक सूचकहरु मूल्याङकन गर्दा अर्थाथमा गएर गर्ने नगरेको बताए । उनले सरकारले नै यथार्थवादी भएर सूचक मापन गर्दा थप समस्या आउने गरेको बताए । उनले मुलुकको अर्थमन्त्री पुँजीगत खर्च बढाउन नसक्ने तर ७ प्रतिशत आर्थिक वृद्धिदर हुने बताए ।

उनले विश्व बैंक लगायत अन्तर्राष्ट्रि मापकहरुले २ देखि ३ प्रतिशत हुन्छ भनि रहेको अवस्थामा ७ प्रतिशत हुन्छ भन्न नहुने बताएका छन् । नेपालमा रेमिटेन्सका कुरा धेरै हुने गरे पनि रेमिटेन्स नै मुलुकको अर्थतन्त्रको बाधक भएको बताए । समितिको छलफलमा सहभागि सबै अर्थविद्हरुले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा परेको बताए । उनले यसको लागि सरकारले आयातलाई रोक्नु पर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु सुझाव दिएका छन् ।

प्रतिक्रिया