हिन्दु महासंघका महासचिव भण्डारी पदमुक्त

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले महासचिव अस्मिता भण्डारीलाई पद मुक्त गरेका छन् ।
यही मंसिर २४, २५ र २६ गतेको लागि काठमाडौंमा आयोजना भएको सो महासंघको महासम्मेलनमा अध्यक्षको निर्वाचन प्रक्रियामा विवाद सृजना भएपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि २५ गते राती महासम्मेलनको महासभा रोकिएको समाचार प्राप्त भएको थियो ।
अध्यक्षको प्रत्यासी उम्मेदवारको रूपमा किशोरकुमार गौतम व्यासाचार्य र महासचिव अस्मिताले उम्मेदवारी दिएका थिए । महासभा रोकिए पनि आफ्ना पक्षधरको आडमा एकलौटी रूपमा भण्डारीले आफूलाई आफूखुशी कार्यवाहक अध्यक्ष घोषणा गराएको सुन्नमा आएको स्रोतले जनाएको छ ।
यसरी स्वघोषित का.वा. अध्यक्ष हुने व्यवस्था कुनै पनि संघसंस्थामा नहुने कानुनविज्ञहरू बताउँछन् । महासभा वा निर्वाचन प्रक्रिया पूरा भएर अर्को अध्यक्षले जिम्मेवारी नलिएसम्म पुरानै अध्यक्ष रहने विश्वव्यापी मान्यता हो । नयाँ प्रधानमन्त्री नियुक्ति नभएसम्म पुरानो प्रधानमन्त्रीले राजीनामा दिएपनि उसले नै जिम्मेवारी संहालेको हुन्छ ।
त्यस्तै महासंघमा पनि यस्तो अवस्थामा पुरानै कार्यकारिणी समितिले नै जिम्मेवारी बहन गर्नुपर्ने आसय महासंघका पदाधिकारी तथा सदस्य एवं सरोकारवालाहरूको रहेको बुझिन्छ ।


प्रतिक्रिया