मंगलबार, वैशाख ११, २०८१

भुँडी घटाउने उपाय !

डा . हेमराज कोइराला २०७८ पुष ३ गते १३:५८

मानिसको भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकका रुपमा मानेको छ । हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गाह्रो पर्छ । बढेको भुँडीबाट अनेकौं हानिकारक तत्त्व निस्किन्छन् । यस्ता हानिकारक तत्त्व टाइप-२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन् । एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ ।

उपाय १
फाइबरयुक्त खाना :
हामीले खाने खानामा पाइने फाइबर (रूक्षांश) ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ । घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ । खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृप्त गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ । साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ । अध्ययन अनुसन्धानको निचोड भन्छ- १० ग्राम घुलनशील फाइबरको अतिरिक्त प्रयोगले भुँडी लाग्ने क्रियालाई ३.७ प्रतिशत कम गर्छ ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एभोकाडो, ब्ल्याक बेरी, दाल-गेडागुडी र हरिया सागपात आदि हुन् ।

उपाय २
ट्रान्स फ्याटयुक्त खानेकुरा नखाऔं :
अनसेचुरेटेड फ्याटमा हाइड्रोजन परमाणु पम्प गरेर बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्स फ्याट भनिन्छ । प्राकृतिक तेलहरुलाई धेरै तताउँदा पनि तेल ट्रान्स-फ्याटमा परिवर्तित हुन्छ । बोतलबन्द, बट्टाबन्द, जंक फुडहरुमा ट्रान्स फ्याट हालिएको हुन्छ । ट्रान्स फ्याट मुटुरोग, मधुमेह, नशा नाडीको क्षय, बाथ, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सियाजस्ता रोगसँग सम्बद्ध यौगिक हो । यसर्थ भुँडी घटाउन चाहनेहरुले ट्रान्स फ्याटको पहरेज गर्नुपर्छ ।

उपाय ३
मदिरापान नगरौं :
मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन् । मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं ।

उपाय ४
उपवास गर्ने गरौं :
उपवास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि साताको एक दिन उपवास सबैभन्दा उत्तम हो । वर्षको दुईचोटि ५ देखि ७ दिनको उपवास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ ।

उपाय ५
जडीबुटीको काडा पिउने गरौं :
गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडीबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ । यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ ।

उपाय ६
प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौं :
शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरिया पाइन्छन् । यी ब्याक्टेरियाको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ । प्रोबायोटिक्सयुक्त खानेकुरा भनेको शरीरमा भएका ब्याक्टेरियाहरुजस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुरा खाँदा पाचनमा सुधार हुने र तौल घट्ने तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

उपाय ७
संरक्षित खानेकुराहरु नखाऔं :
लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ । खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकललगायत चिनी, नुन, तेल जस्ता तत्त्वहरु हालिएको हुँदा यस्ता खानेकुराले तौल बढाउँछ ।

उपाय ८
एप्पल साइडर भिनेगरको प्रयोग :
१२ सातासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ । एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने, भुँडीको बोसो घटाउन सहयोग पुर्‍याउँछ । स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगर प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसलाई पर्याप्त पानी हालेर प्रयोग गर्नुपर्छ नत्र यसले दाँतको इनामेललाई खुइल्याउन सक्छ ।

उपाय ९
उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं :
उच्च प्रोटिनयुक्त खानेकुरा खाँदा तृप्तिकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ति हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ । फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं ।

उपाय १०
तनाव व्यवस्थापन गरौं :
तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्मोन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ । यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ । तनाव व्यवस्थापनको महत्त्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो ।

उपाय ११
चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔं :
प्रशोधित चिनी हालिएका खानेकुरा जस्तै- चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ ।

उपाय १२
घरेलु चिल्लोको प्रयोग :
तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ । तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरुभन्दा राम्रा छन् । यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ । उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ ।

उपाय १३
कार्डियो एक्सरसाइज गर्ने गरौं :
श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ । कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बर्न हुने हुँदा चाँडै तौल एवं भुँडी घट्छ ।

उपाय १४
निद्रा पुग्ने गरी सुत्ने गरौं :
गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो । दैनिक ५ घण्टाभन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ । भुँडी घटाउन चाहनेहरुले गहिरो निद्रा लिन आवश्यक हुन्छ । यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको प्रबन्धनतिर लागौं र भुँडी घटाऔं ।

उपाय १५
सागपात एवं फलफूल खाने गरौं :
बोसो लाग्ने क्रियालाई तोड्न हामीले हाम्रो शरीरलाई एकपल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ । शरीर शोधनका लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ । सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ । सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणाली बोसो घटाउने दिशातिर कार्य गर्न थाल्छ ।

उपाय १६
पेटको व्यायाम गरौं :
भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो । भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्विस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विट, रोलिङ प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रियाजस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ ।

उपाय १७
हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौं :
मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ । यो गुलियो अति स्वादिष्ट हुने भएकाले अधिकांश जंकफुडमा हालिएको हुन्छ । लिबरमा बोसो लगाउनेदेखि भुँडी लाग्ने र तौल बढ्ने जस्ता समस्याहरूसँग सम्बद्ध यो यौगिक अनेकौं मेटाबोलिक रोगहरूको कारण पनि हो ।

उपाय १८
कार्बोहाइड्रेटको प्रयोग कम गरौं :
धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ । यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया