आइतबार, जेठ ६, २०८१

५७ देशमा पुग्यो ओमिक्रोनको नयाँ भेरियन्ट

नेपालखोज २०७८ माघ २० गते १२:५९

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप बीए.टू तीव्र गतिले फैलिरहेको छ । अहिलेसम्म यो भेरियन्ट ५७ वटा देशमा फेला परिसकेको छ ।

विश्व स्वास्थ्य संगठन भन्छ- ओमिक्रोनको भेरियन्ट बीए.टू मूल ओमिक्रोन भाइरसभन्दा बढी संक्रामकका साथै बढी हानिकारक हुन सक्छ । ओमिक्रोनको पहिचान दक्षिण अफ्रिकामा गरिएको दुई महिनाभन्दा कम समयमै यसले पूरै संसारमा आफ्नो जाल फैलाइसकेको छ ।

आफ्नो साप्ताहिक अपडेटमा डब्ल्यूएचओले जनाएअनुसार बितेको एक महिनामा संकलित नमुनामध्ये ९३ प्रतिशतमा ओमिक्रोनको अलग-अलग सब-भेरियन्ट बीए.वान , बीए.वान.वान, बीए.टू तथा बीए.थ्री पाइएको थियो । बीए.वान र बीए.वान.वानको पहिचान सबैभन्दा पहिले भएको थियो । यसको संक्रमण कुल संक्रमणमा ९६ प्रतिशत देखिएको छ ।

बीए.टू मूल भाइरसभन्दा अलग छ र यसमा पनि स्पष्ट वृद्धि देखिएको छ । विश्व स्वास्थ्य संगठन भन्छ, ‘बीए.टूको रेकर्ड ५७ वटा देशमा देखिएको छ भने केही देशमा त ओमिक्रोनका कुल बिरामीमध्ये आधा त यसकै सिकार भएको पाइएको छ ।’

डब्ल्यूएचओका अनुसार यी सब-भेरियन्टबारे निकै कम जानकारी उपलब्ध छ । त्यसैले यसमा थप अध्ययनको आवश्यकता छ जसले यसको संक्रामक स्वभाव तथा प्रतिरोध क्षमतालाई धोका दिनसक्ने यसको खुबीबारे विस्तृत जानकारी दिन सकोस् । हालै गरिएको अध्ययनहरुले बीए.टू मूल ओमिक्रोनभन्दा बढी संक्रामक भएको पुष्टि गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनकी विशेषज्ञ मारिया वान केरखोभ भन्छिन्, ‘त्यति जानकारी उपलब्ध नभए पनि सुरुवाती तथ्यांकअनुसार बीए.वानको तुलनामा बीए.टूको वृद्धि पनि केही बढी देखिएको छ ।’

ओमिक्रोन पहिलेको डेल्टा भेरियन्टको तुलनामा कम घातक छ । यसको लक्षण पनि त्यति गम्भीर छैन । डा. वान केरखोभका अनुसार बीए.टू पहिलेको भेरियन्टभन्दा गम्भीर छ भन्ने कुनै संकेत पाइएको छैन । यद्यपि उनको भनाइ छ, ‘जुनसुकै भेरियन्ट भए पनि कोभिड निकै खतरनाक रोग हो भन्ने कुरा साबित भइसकेको छ । हामी सबैले यसबाट जोगिनैपर्छ ।’

डा. केरखोभ भन्छिन्, ‘हामी सबैले के कुरा बुझ्नुपर्छ भने कोरोना भाइरस अहिले पनि फैलिरहेको छ र यसले बारम्बार आफ्नो स्वरूप परिवर्तन गरिरहेको छ । त्यसैले हामिले सावधानी अपनाउने तथा जुनसुकै भेरियन्ट आए पनि त्यसबाट जोगिनेबाहेक अरु उपाय छैन ।’
-एएफपी, एपी

प्रतिक्रिया