शुक्रबार, वैशाख १४, २०८१

जनयुद्ध दिवस कि धनयुद्ध दिवस कमरेड ?

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ फागुन १ गते ८:००

फागुन एकमा नेपालमा जनयुद्ध दिवस मनाउने गरिँदो रहेछ । परन्तु यो जनयुद्ध दिवसको नाम धनयुद्ध रखेको भए अत्यन्त सार्थक हुने थियो । धनयुद्ध यस अर्थमा कि माओवादी युद्धले जन्माएका नेता भनिएकाहरु धन सञ्चय गरी कमाउ धन्दामा छन् । युद्धका दौरान माओवादी पार्टीले जनतालाई दिएका आश्वासन, मर्नका लागि प्रेरित गरिएका बाचाहरु केबल कर्कलाको पानी जस्तो जोगाउँदा जोगाउँदै फुत्त जमीनमा खसेर स्वाहा भइसकेको छ । अब यस्तो अवस्थामा जनयुद्ध दिवस नामको धनयुद्ध दिवस मनाउनुको औचित्य के होला ?

कथित जनयुद्धको नाममा कलिला बालकहरुलाई हतियार बोकाइयो । तिनले आफ्नै बा, काका, हजुरबा र आमाहरुको रगतको होली खेले । त्यही होलीको रातो रगतमा नुहाएका नेता भनिनेहरुको नै आज एक मतो छैन । न त रगतको होली खेल्न जुर्मुराएर उठेका त्यसबेलाका युवावर्गले आज ती कर्महरुको उचित उत्तर नै पाएका छन् । अंगभंग भई बसेका छापामारहरुको अवस्था पनि कम्ता दर्दनाक छैन । बेपत्ता पारिएका नागरिकका आफन्तजनले अब हतियारको खेल नहोस् भनेर भगवानसँग प्रर्थना गरिरहँदा मुलुकको नायक मानिएकाहरुलाई अझै रगतको होली खेल्न नपुगेर ननभेज आन्दोलनको तयारी गर्नुपर्ने भएको छ । यस्तैमा जनयुद्ध नामको धनयुद्ध दिवसको भव्य समारोह हरेक वर्ष आयोजना गरिन्छ र घोषणा गरिन्छ हामी नै हौं सत्रहजार टाउका काट्ने बधिकहरु ।

कथित जनयुद्धका समय जनताका छोराछोरीको काँधमा बन्दुक बोकाउनेहरु भारतको पाँचतारे होटलमा रंगिन जिन्दगी बाँचिरहेका थिए । ती नेताहरु आज एक ठाउँमा छैनन् । भिन्न भिन्न दल नामका प्राइभेट कम्पनीका मालिक भएर तिनलाई राजनैतिक व्यवसाय गर्नमा नै आनन्द छ । जनयुद्ध नामको धनयुद्धमा जति लुटिएको थियो त्यसको दोब्बर, तेब्बर र चौबर बनाउने अंकगणितमा तिनको हरहमेसा ध्यान रहेको छ । मुलुक र जनताकै लागि जनयुद्ध लडिएको थियो भने त्यसको औचित्य आज स्थापित हुन्थ्यो । जसरी नेपाली उतिबेला भरिया हुन विदेसिई रहेका थिए त्यसरी नै विदेसिने उपक्रम रोकिने थियो । साँच्चै मुलुकको हितमा जनयुद्ध लडिएको थियो भने त्यस युद्धका नेताहरु अर्काकी स्वास्नी भगाउँदै पक्कै हिँड्दैनथे । तिनले त हिजो बन्दुकका नालले जनताका छोरीहरु बलात्कार गरे आज शक्तिको उन्मादले अर्काका स्वास्नी अपहरण गरे भने अब त्यसलाई जनयुद्ध भन्ने कि धनयुद्ध ?

सिद्धान्ततः जनयुद्ध नामको धनयुद्धमा पापयुक्त पकार बाहेक केही उच्चारण भएन । प्रतिकार, प्रतिशोध, प्रतिगमन, प्रतिक्रान्ति र प्रत्याक्रमण यस्तैयस्तै शब्दहरु थिए ती पापाचारी शब्दहरुमा । अर्को डरलाग्दो हाउगुजी थियो प्रचण्ड शब्दको । जनयुद्ध धनयुद्धमा परिणत भएपछि यी शब्दहरु अत्यन्त निम्छरा साबित भएका छन् । लोकले यस्तो शब्द र बन्दुकको नालले धनार्जन हुनसक्छ भनेर कल्पनै गरको थिएन । लोकलाई त यो थाहा थियो धनार्जन गर्न परिश्रम र मेहनत चाहिन्छ । तर धनयुद्धले यो साबित गरिदियो कि धनार्जनको लागि त बन्दुक चाहिन्छ । त्यसैको निरन्तरता हो विप्लवको आतंक । त्यही जनयुद्ध नामको धनयुद्धपछि नै हो मुलुकमा विभिन्न समयमा हतियारका आतंकहरु सिर्जना भएका । त्यसका बाछिटाले हाानिराख्ने देखेपछि मोहन वैद्य र बाबुरामहरु यो मुद्दालाई तिलाञ्जली दिएर भागिरहेका छन् ।

जनयुद्धको घाउ कहिल्यै नपुरिने गरी नेपाली जनताको मानसमा ताजै छ । त्यसले देशलाई यो दियो, त्यो दियो भनेर भाषणमा रमाईरहँदा गाँस, बास र कपास लुटिएकाहरुको जीवनमा त्यसले के दियो भन्ने प्रश्नले झकझक्याई रहन्छ । जनयुद्धको नेतावर्ग महंगा गाडी र आलिसान महलमा विराजमान भइरहँदा काटिएका हातगोडा भएका सर्वसाधारणले अस्पतालमा उपचार नपाएर बाटोमा माग्न विवश भएका छन् । भर्भराउँदो उमेर भएका केटौले उमेरमा आफूले हतियार समाएकोमा तिनलाई अहिले हिनताबोध भएको छ । त्यसलाई यो धनयुद्ध दिवसले कहिले सम्बोधन गर्ला ? हरेक साल राजनैतिक संक्रमणको दुर्दशा भोग्ने मुलुकका नेताहरुले ती दीनहीन अनुहार बनाएर हिँडेका मानिसहरुको मनको घाउमा मल्हम पट्टि लगाउन सक्लान् कि नसक्लान् ? धनयुद्ध दिवस कमसेकम यसकातर्फ आकर्षित रहोस् ।

नेपाली जनतालाई भाइभाइमा गोली हान्न सिकाउने धनयुद्धका नाइकेहरु देशको पटकपटक प्रधानमन्त्री भइसके । तिनीहरुमध्ये कतिपयलाई धनयुद्धलाई जसरी हुन्छ जनयुद्धको नाममा परिणत गर्नुछ । त्यसैले धेरै पैसा खर्च गरेर स्टेज बनाई त्यसमा भाषण पनि गर्नुछ । यसपाली पनि हामीले नै ल्याएको हो परिवर्तन भन्दै छाती पिट्दै कौलासिँदै गर्दा बन्दुकका छर्राहरुले घाइते भएकाहरुले के सोचेर ताली पिट्ने हो ? कार्यक्रम सफल भएपछि ती छाती पिटेर कौलासिनेहरु साँझ घर गई विदेशी रक्सीमा मातिएर आज त बहुत जोडजोडले चिच्याएर थाकियो नि कमरेड भन्दै रोइलो गर्लान् । मुलुक र जनताको लागि त कसैले जनयुद्ध मनाओस् कि धनयुद्ध मनाओस् के फरक पर्छ र कमरेड ? गाँस लुटिएका, बास लुटिएका र बेपत्ता पारिएका परिवारले भने अब सोध्नै सक्तैनन्, जनयुद्ध दिवस कि धनयुद्ध दिवस कमरेड ?

प्रतिक्रिया