‘समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढे’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छन् ।
आज नेपाल रि-कन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउँने गरेको कारणले दुर्घटना हुने गरेको बताइन् ।
सडकमा गुड्ने गाडीको समयमा मर्मतसम्भार गर्ने हो भने पनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताइन् । रि-कन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराएकी छन् । उनले रि-कन्डिसन अटो व्यवसायीलाई आफुले कस्तो अवस्थाको गाडी खरिद तथा विक्रि गरिरहेको छु भन्नेतर्फ ध्यान दिन आग्रह गरिन् ।
मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराइन् ।
उनले रि-कन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठुला शहरहरुमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गरिन् । व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उनले व्यवसायीहरुलाई छलफलमा आउन पनि आग्रह गरिन् ।

प्रतिक्रिया