मन्त्री भुसालले अक्सिजन प्लान्ट उद्घाटन गरिन्

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले अक्सिजन प्लान्ट उद्घाटन गरेकी छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन उनले गरेकी हुन् ।
कार्यक्रममा मन्त्री भुसालले अक्सिजन प्लान्टका कारण महामारी विरुद्ध लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । उनले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताइन् । मन्त्री भुसालले निःशुल्क चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रक्रिया अघि बढाउने आश्वासन दिएकी छिन् ।
कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयले यही पुस १ गतेबाट शनिबार समेत ओपिडी सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ । अक्सिजन प्लान्ट स्थापनाको लागि युनाईटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले ५ लाख, एनआरटी क्लवले ५ लाख, ढल्को परिवारले ३ लाख, हातेमालो बनस्थलीले ५ लाख रुपैयाँ सहयोग गरे ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । अक्सिजन प्लान्ट बनाउनका लागि १ करोड ४५ लाख रुपैपाँ खर्च भएको छ ।

प्रतिक्रिया