‘३० प्रतिशतको हाराहारीमा बिजुलीको पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि हो’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताएका छन् । काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गदै उनले गत वर्षको भन्दा यस वर्ष पिक डिमान्ड बढ्नु ठूलो उपलब्धी भएको जनाए ।
कार्यकारी निर्देशक घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेको जनाए ।
उनले अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको जनाएका छन् । उनी आफैँले मुलुकभित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरुलाई चाहिए जति विद्युत् लिन आग्रह गर्दै आएका छन् ।
कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिशनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ ।’
उनले विद्युतको माग अहिलेकै रुपमा बृद्धि भयो भने चालू आवको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको जानकारी दिएका छन् ।
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।
प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिन आग्रह गरेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।
प्रतिक्रिया