राष्ट्र बैंक भन्छ- वर्तमान सञ्चिति ७ महिना २ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी मुुद्राको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो ।
अमेरिकी डलरमा भने यस्तो संञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १० दशमलव नौ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको राष्ट्र बैंकको भनाई छ । कुल विदेशी विनिमय संञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको संञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई ११ खर्ब सात अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संंस्थाहरुसँग रहेको कुल विदेशी मुद्रा संञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई एक खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६ दशमलव एक प्रतिशत रहेको छ । चालुु आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना नौ दिनको वस्तु आयात र सात महिना दुई दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चालु आवको २०७८ कात्तिक मसान्तमा विदेशी विनिमय संञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९ दशमलव दुई प्रतिशत, ६० प्रतिशत र २३ दशमलव आठ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दसमलव आठ प्रतिशत, ८४ दशमलव सात प्रतिशत र २७ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया