आइतबार, जेठ ५, २०८२

कोरोना बहाना : अभिव्यक्ति स्वतन्त्रतामा अंकुश !

नेपालखोज २०७८ पुष ५ गते ११:४२

काठमाडौं । संसारका कैंयन् सरकारले कोरोना महामारीलाई अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने अवसरका रुपमा प्रयोग गरेको पाइएको छ । यसैगरी संसारमा गलत सूचनाको प्रसारमा सोसल मिडियाको प्रयोगसमेत बढेको छ ।

मानवअधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनलले २०२१ मा एउटा रिपोर्ट जारि गर्यो जसको शीर्षक साइलेन्ट एन्ड मिसइन्फर्मेड : फ्रिडम अफ एक्सप्रेसन इन डेन्जर ड्युरिङ कोभिड-१९ छ । संस्थाले आफ्नो रिपोर्टमा संसारभरका ती सरकारहरुको विवरण दिएको छ जसले २०२० पछि कोभिडको बहाना बनाउँदै अभिव्यक्ति स्वतन्त्रता माथि ‘अभूतपूर्व’ अंकुश लगाए । एमनेस्टीले भनेको छ- दमनकारी सरकारहरुले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र मिडियामाथि प्रतिबन्ध लगाउन कोरोना भाइरसलाई हतियारका रूप प्रयोग गरिरहेका छन् । यस विषयमा केही सरकारका गलत कदमको उल्लेखसमेत गरिएको छ ।

एमनेस्टीका अनुसन्धान तथा नीतिसम्बन्धी वरिष्ठ निर्देशक भन्छन्- कोरोनाकालमा मिडियाहरुलाई लक्षित गर्ने प्रयास गरियो, सोसल मिडिया पनि सेन्सरमा परे भने कैंयन् मिडिया बन्द गरिए ।

एमनेस्टीको रिपोर्टमा भनिएको छ- जुन सरकारहरुले लामो समयदेखि सार्वजनिक क्षेत्रमा अत्यधिक प्रतिबन्धात्मक कानुन लागु गर्दै स्वतन्त्रतामाथि कडा नियन्त्रण कायम गरेका छन् उनीहरुले यो महामारीको उपयोग आलोचना, बहस र सूचनाहरु साझा गर्ने कानुनलाई अझ कडा बनाउने काममा गरेका छन् ।

रिपोर्टमा भनिएको छ- केही सरकारले महामारीका कारण उत्पन्न स्थिति तथा चिन्ताको उपयोग आपतकालीन उपाय अपनाउने अनि नयाँ कानुन बनाउने कुरामा गरे जसमा गलत सूचनासम्बन्धी मुद्दा पनि समावेश थिए । किनभने ती सरकारहरु महामारीसँग जुध्न निस्प्रभावी साबित भइरहेका थिए ।

रिपोर्टमा उल्लेख भएअनुसार चीन (जहाँ २०१९ मा पहिलोपटक कोरोना भाइरसको अस्तित्व फेला परेको थियो) मा फेब्रुअरी २०२० सम्म ५,११५ जना विरुद्ध आपराधिक जाँच सुरु गरियो । उनीहरुमाथि यो महामारीको प्रकृतिका सम्बन्धमा गलत अनि हानिकारक जानकारी गडेर त्यसलाई जानिबुझी फैलाएको आरोप लगाइएको थियो ।

रिपोर्टअनुसार रूसले फर्जी समाचारविरुद्धको कारबाहीका नाममा मिडियाविरुद्ध अनुशासनात्मक कारबाही गर्न सकिने कानुन निर्माण गर्यो । रुसमा महामारीलाई लिएर केही प्रतिबन्ध पनि लागु भए । यद्यपि महामारी समाप्त भए पनि यी प्रतिबन्ध र कारबाही जारी रहने आशंका छ ।

सोसल मिडिया र फेक न्युज
एमनेस्टीले यो रिपोर्टमा सोसल मिडियाको कुरासमेत उठाएको छ जसले गलत सूचनाको प्रसारलाई सुविधाजनक बनाउँदै आएका छन् । रिपोर्टअनुसार सोसल मिडिया प्लेटफर्महरुमा कन्टेन्टलाई यसरी बढाइ-चढाइ प्रस्तुत गरिन्छ ताकि युजर्सहरुको ध्यान खिच्न तथा उनीहरुलाई आफूसँग जोडेर राख्न सकियोस् । सोसल मिडियाहरु यस्ता झुटा तथा भ्रामक जानकारीको प्रसार रोक्न गम्भीरतापूर्वक काम गर्दैनन् ।

३८ पेजको उक्त रिपोर्ट भन्छ, ‘गलत सूचनाको हमला… अभिव्यक्ति स्वतन्त्रता र स्वास्थ्य अधिकारका लागि एउटा गम्भीर खतराका रुपमा अगाडि आएको छ ।’
-एएफपी, डीपीए

प्रतिक्रिया