खोप बोकेको विमान अवतरण गर्न सकेन, चीनतिरै फर्कियो

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिएका छन् । उनका अनुसार चीनबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो ।
यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५सय मात्रा खोप ल्याइँदैछ ।
कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताए । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।
प्रतिक्रिया