‘विश्वविद्यालयले युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गरोस्’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।
आज (सोमबार) त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताए ।
उनले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको भनाइ राखे । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र परिवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी निरन्तरता दिनुपर्ने बताए । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गरेका छन् । तस्बिर रासस
प्रतिक्रिया