अध्यक्ष नेपाल भन्छन्- एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ

काठमाडाैं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन् । उनले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताए ।
अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने, सच्याएर मात्रै अघि बढ्ने बताए । अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए ।
अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अन्याय गरेको बताए । उनले पार्टीमा रहँदा प्रचण्ड धेरै सोजो बनेको पनि बताए । अध्यक्ष नेपालले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गरे ।
अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोपसमेत लगाए । उनले गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताए ।
अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि दाबी गरे । अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताए ।

प्रतिक्रिया