प्रचण्डले भने- ओली अहिले पनि प्रतिगमनकै बाटोमा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् ।
समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन् ।
उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरित् नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे । अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र विरोधी भएको पुष्टि हुने बताए ।
अध्यक्ष दाहालले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए । उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे । अध्यक्ष दाहालले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।
अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउनेसमेत बताए ।

प्रतिक्रिया