केएमसी कलेजले शोषण गरेको विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बिडिएसका विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क जवरजस्ती उठाउन खोजेको आरोप लगाएका छन् ।चिकित्सा शिक्षा संघर्ष समितिले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिवद्धता गर्नुपर्ने माग गरेको छ ।
विद्यार्थीहरुले करारनामाको नाममा कलेज प्रशासनले अनावश्यक दबाब दिन नपाइने र ऐच्छिक छात्रावासको व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन् । उनीहरुले शिक्षण शुल्कमा कर लाग्ने भएमा लाग्ने कर विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने काम मान्य नहुने पनि चेतावनी दिएका छन् ।
चिकित्सा ऐन २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्कबाहेकका सबै शुल्क ऐच्छिक हुन् भन्दै कलेजले लिन खोजेको अतिरिक्त शुल्कहरु विद्यार्थीहरु तिर्न बाध्य नभएको र अपिलम्ब खारेज गर्न माग गरेका छन् ।अध्ययन अविधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँचजस्ता कुराहरुमा ९० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । एमबीबीएस तहमा अध्ययनरत छात्रा निशिका कोइरालाले आम विद्यार्थीहरुको माग आफूहरुले कलेजसमक्ष राखेको बताईन् ।
उनले कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गरेको आरोपसमेत आरोप लगाईन् । कोइरालाले शिक्षण शुल्क अतिरिक्त राखेर २० लाखभित्र के–के पर्छन् त्यसबारेमा विद्यार्थीहरुलाई हालसम्म केही सूचना नदिएको पनि उल्लेख गरिन् ।
कलेजले अनिवार्य रुपमा ५ वर्ष छात्रावास बस्नुपर्ने बाध्यता बनाएको उल्लेख गर्दै छात्रावासमा पनि न्यूनतम सुविधाको व्यवस्थासमेत नगरेको गुनासो पोखिन् । उनले वाईफाइको सुविधा समेत नदिईएको र आफ्नो आवाजबाहिर ल्याउन नपाउने भन्दै दबाब दिँदै आएको बताईन् । उनले भनिन्,‘यो शिक्षा हो की व्यवसाय हो ? कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्यो, होइन भने हाम्रा माग पुरा हुनुपर्छ ।’
त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी नेतृ मान्यता थापाले चिकित्सा आयोगले स्वास्थ्यसम्बन्धी विद्यार्थीका सबै समस्या आयोगले समाधान गर्ने भनिएपनि अहिलेसम्म समाधान गर्न नसकेको बताईन् । थापाले काठमाडौं विश्वविद्यालयले पनि विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुलिरहेको जनाईन् ।
उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालयलाई नचाहिने अतिरिक्त शुल्क, काठमाडौं विश्वविद्यालयले मात्र लिने यो कस्तो माफियातन्त्र हो?।’ मेडिकल माफियाहरुले शिक्षा क्षेत्रमा अहिले ठाडो चूनौती दिईरहेको पनि उनको टिप्पणी थियो ।
संविधानभन्दा माथि कोही नभएको भन्दै उनले आयोगलाई माफियाहरुले किन्न खोजेको आरोपसमेत लगाईन् । उनले माफियाहरुबाट नेपालका धेरै पार्टीहरु बिकेको बताईन् । उनले आफ्नो माग पुरा गराउनको लागि कुनै संकोच नमानी अगाडि बढ्नसमेत पीडित विद्यार्थीहरुलाई आग्रह गरिन् ।
अखिल क्रान्तिकारीका विद्यार्थी नेता नरेन्द्र विश्वकर्माले केएमसीले एमबीबीएस तहका २४औं ब्याचका विद्यार्थीहरुमाथि गरेको चरम लुट र शोषणको विरुद्धमा आफ्नो संगठन उभिने र पीडित विद्यार्थीहरुलाई न्याय दिलाउने प्रतिबद्धता जनाए । उनले केएमसी प्रशासनले विद्यार्थीको आवाजहरुलाई नसुनेपछि आफ्नो आवाज बाहिर ल्याएर विद्यार्थीहरुले राम्रो काम गरेको पनि बताए ।
उनले पछिल्लो समय केएमसी अभिभावकको खुन र पसिना चुस्ने मेसिन बनेको पनि टिप्पणी गरे । काठमाडौं उपत्यकामा एमबीबीएस अध्ययनको लागि ४० लाख रुपैयाँ लाग्ने भएपनि केएमसीले भने ६० लाख लिन खोजेकोमा आपत्ति जनाए ।
केएमसीका संचालक कांग्रेसको नेता भएको भन्दै उनले आफ्नो सरकारको आडमा विद्यार्थीहरुलाई लुट्ुन खोजेको आरोप लगाए । मेडिकल कलेजहरु माफियाहरुको हातमा गएको उनको जिकिर थियो ।
केएमसीका पीडित विद्यार्थीहरुको आन्दोलनलाई आफूहरुको पूर्ण रुपमा समर्थन रहेकोे बताउँदै विद्यार्थीहरुको हकहित र न्यायका लागि जस्तोसुकै ठूलो संघर्ष गर्नपनि पछि नपर्ने उनले विश्वास दिलाए ।
केएमसीमै एमबीबीएस तहमा अध्ययनरत अर्का विद्यार्थी दयाल संगतीले चिकित्सा आयोगले तोेकेअनुसार नै आफूहरुले रकम कलेजलाई बुझाएको बताए । कलेजले आफूहरुलाई छात्रावासमा पाउनुपर्ने न्यूनतम सेवा÷सुविधा पनि प्रदान नगरेको उनको गुनासो छ । उनले कलेज प्रशासनले आफूहरुलाई वाइफाई र पानी नभएको कोठामा राख्न खोजेको पनि गुनासो पोखे ।
उनले ४० लाख ट्युशन–फी तिर्नुपर्नेमा आफूहरुले १३ लाख तिरेपछि कलेज प्रशासनले भने अतिरिक्त शुल्कको नाममा थप २० लाख रुपैयाँ रकम आफूहरुसँग असुल्न खोजेको सुनाए । कलेज प्रशासनले आफूहरुसँग तोकिएकोभन्दा २० लाख रुपैयाँ बढि अतिरिक्त शुल्क लिने थाहा पाएपछि आफूहरुको अभिभावक निकै आत्तिएको पनि सुनाए ।
अतिरिक्त शूल्क खारेज हुनुपर्ने भनेर आफूहरुले विश्वविद्यालय र सम्बन्धित निकायमा निवेदन दिँदापनि त्यसबारेमा कुनै सुनुवाई नभएको उनको गुनासो छ । यही ईस्यु लिएर आफूहरु चिकित्सा शिक्षा आयोगमा पनि पुगेको उनले सुनाए । तर, आयोगले भने आफूहरुलाई कलेजमै गएर सल्लाह गर्न सुझाव दिएको उनले जनाए । हालसम्म कलेजलाई १३ लाख तिरिसकेको भन्दै उनले माग पुरा नभएमा संघर्ष जारी राख्ने चेतावनी दिए ।
त्यस्तै, केएमसीमै एमबीबीएस तहमा अध्ययनरत विद्यार्थी राजन पाण्डेले चिकित्सा शिक्षा आयोगले एकीकृत म्याचिङ परीक्षा व्यवस्था गरेको सुनाए । केएमसीमा बाध्य भएर पढ्न परेको उनको भनाइ थियो ।उनले शिक्षण शुल्क, ट्युशन फी लगायत सबै गरेर ४० लाख लाग्ने भनिएपनि अतिरिक्त शुल्क थपबारे सुन्दा आफुहरु आतिएको बताए । भर्नाको क्रममा केही नभनेर पछि आएर मात्र ६० लाख रुपैयाँ भनेर आफूहरुलाई ठग्न खोजिएको उनको गुनासो थियो ।
पाण्डेले औसत मानिसहरुलाई ४० लाख कमाउन ४० वर्ष लाग्ने भन्दै २० लाख कमाउन अभिभावकहरुलाई अझ २० वर्ष समय लाग्ने बताए । ऐनमा उल्लेख गरिएको शुल्क आफुहरु तिर्न तयार भएको उनले सुनाए । अहिले चिकित्सा आयोग पनि अन्योलमा परेको आफुहरुलाई महशुस भएको बताए ।कलेज प्रशासनले मनलाग्दी गर्दा आफुहरु ठूलो पीडामा परेको उल्लेख गर्दै उनले आफुहरुको माग सुन्ने कोही नभएको पनि गुनासो पोखे ।उनले केएमसीका अध्यक्षलाई व्यापारीको संज्ञा दिए ।
प्रतिक्रिया