एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : सचेतक भट्टराई

नेपालखोज २०७८ पुष ६ गते १९:३८

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए ।

नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाए । एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाई छ । एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उनले बताए ।

नेकपा(माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरे । उनले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफुलाई अर्मयादित बनाउनु नहुने बताए ।

उनले जुन विषय उठाएर संसद् अवरुद्ध गरिएको छ त्यो विषय संसद अवरुद्ध गर्ने खालको नभएको टिप्पणी गरे । संसद् अवरुद्ध गर्नाले राजनीतिक दलहरु र स्वयम् एमालेलाई पनि राम्रो नहुने सांसद पाण्डेले बताए ।

प्रतिक्रिया