आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

नेपालखोज २०७८ पुष ६ गते २२:०२

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले उहाँको सम्मानमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरे । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रणगर्दे महामन्त्री शर्माले पार्टीप्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै उनले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पारे । आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै महामन्त्री शर्माले सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गरे।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपंक्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै उनले त्यसका लागि आपूm र नेतृत्वले संयोजन गर्ने उल्लेख गरे । मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् युनियनका महासचिव अजयबाबु शिवाकोटीले आफूलाई निर्वाचित बनाउने अभियानमा युनियन र मिडियाको पनि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया