मल राष्ट्रिय समस्या

नेपालखोज २०७८ पुष ७ गते १६:५७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले रासयनिक मलको अर्को विकल्प प्रांगरिक मल भएको बताए । आज नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा मन्त्री यादवले अहिले मल राष्ट्रिय समस्या भएको बताए ।

मलको समाधान जिटूजीबाट हुनसक्ने तर अहिलेको विकल्प भनेको प्रांगरिक मल नै भएको उनले बताए । धेरै देशहरुलाई जिटूजीमाध्यमबाट मल दिन पत्राचार गरिएपनि कुनै देश त्यसका लागि तयार रहने स्थिती नदेखिएको मन्त्री यादवले गुनासो गरे ।
मन्त्री यादवले मलखाद लगायतका कृषिसम्बन्धी समस्याहरुको अर्को समाधान भनेको चकलाबन्दी रहेको समेत बताए । अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव रहेकोले किसानको मागअनुसारको पूर्ति गर्न नसकेको मन्त्री यादवले बताए ।

मन्त्री यादवले भने,–‘मलको कुरा उठाउनु भएको छ । यो राष्ट्रिय समस्या हो । मलको बारेमा समस्या के हो भने विगतमा आजभन्दा १२ महनिा पहिले ३, साढे ३ सय डलरमा मेट्रिक्टन पाउँथ्यो । केही दिनपछि ४ सय ६५ मा ठेकेदारहरुले ल्याए । अहिले अचानक ११ सय डलर मेट्रिक्टन भइसक्यो । अब ठेकेदारहरुले लिएका मलहरु आउने निश्चित छैन । अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव छ । त्यसकारण नेपालमा मलखादको अभाव भएता पनि अहिले हिउँद सीजनको लागि हामीले डिएपी र मलखाद हामीले केही आपूर्ति गरेका छौँ । तर पनि किसानको मागअनुसारको पूर्ति भइरहेको छैन ।’

मन्त्री यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढीरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने बताए । उनले कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको र सरकारको तीन खम्बा निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे यो सफल बन्ने बताए । मन्त्री यादवले भने,–‘किसानहरुको पशुसेवाप्रति आकर्षण बढेको छ । कृषि पेशाप्रति आकर्षण बढेको छ । तर यी पेशाहरु अहिले निर्वाहमुखी हुन् । पशुसेवालाई आत्मनिर्भर बनाउँदा त्यसबाट उत्पादन हुने दुध, त्यसबाट उत्पादन हुने वस्तुलाई कसरी आत्मनिर्भर गर्ने, त्यसको लागि कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि, सरकारले अहिले जुन नीति ल्याएको छ । यो नीतिमा २० वर्षे सरकारको नीति छ । त्यसभित्रै पशुपालन र कृषि छ ।’

प्रतिक्रिया