घरमा राखेको पल्सर मोटरसाईकलसहित दुई जना पक्राउ

नेपालखोज २०७८ पुष ७ गते १७:३३

काठमाडौं । काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरमा पार्किङ गरेर् राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको कालो रातो रङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

धादिङ खनियाबास गाउँपालिका ३ घर भई गैरीगाउँ लामाबगर बस्ने १९ बर्षिय पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका १ घर भई लामबगर बस्दै आएका २२ बर्षिय बुद्धि बहादुर तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका–८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । मोटरसाईकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।

प्रतिक्रिया