एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त बनेको खनालको टिप्पणी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद् झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् ।
आज संसद् बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको पनि बताए । उनले एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे ।
त्यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अब धेरै दिन संसद् अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेको भन्दै अब धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरेका हुन् ।
प्रतिपक्ष दलले संसदलाई फलदायी, उपयोगी बनाउन दिनुपर्ने उनको भनाई छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्धा संसदमा छलफलको विषय बनाउनु नहुने तर्फ उनले प्रतिपक्ष दल एमालेको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सभामुखले प्रमुख प्रतिपक्ष दललाई पक्षपातपूर्ण व्यवहार नगरेको बताए । अदालतमा विचाराधिन रहेको विषय संसदमा प्रवेश नदिएर सभामुखले संविधानसम्मत् काम गरेको बताइन् ।

प्रतिक्रिया