वीरगन्ज भन्सारमा लक्ष्यभन्दा पौने ७ अर्ब बढी राजस्व संकलन

नेपालखोज २०७८ पुष ८ गते १२:३५

वीरगन्ज । देशकै मुख्य व्यापारी नाका वीरगन्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७\७८को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो । चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँबढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा छ अर्ब आठ करोड ६६ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिएका छन् । उनले देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताएका छन् ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया