बेलायतमा एकै दिन १ लाखभन्दा बढी काेराेना संक्रमित थपिए, ओमिक्रोन भेरियन्ट पनि बढ्दो

लन्डन । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका संक्रमित भेटिएका थिए ।
यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमितकाे संख्या हो । बेलायतमा पछिल्ला केही सताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन् ।
यहाँका अधिकारीहरुले प्रकोप सुरू भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।
पछिल्ला हप्ताहरुमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया