चीनमा फेला पर्यो २२ सय वर्ष पुरानो बुद्ध मूर्ति !

बेइजिङ । चीनमा भगवान् बुद्धको २२०० वर्ष पुरानो तामाको मूर्ति फेला परेको छ । यो चीनमा फेला परेको यस किसिमको सबैभन्दा पुरानो बुद्ध मूर्ति भएको बताइएको छ । यो मूर्ति प्राचीन समाधिहरुको एक समूहबाट निकालिएको हो । ती समाधिहरु हान राजवंशसँग सम्बन्धित भएको बताइन्छ । फेला परेको एक मूर्तिमा बुद्धको शाक्यमुनि रूप देखिन्छ । मूर्तिमा भगवान बुद्ध लबेदा ओढेर कुनै चिजमाथि उभिएका देखिन्छन् । त्यसका अतिरिक्त एक अन्य मूर्तिमा पाँच तथागत देखिन्छन् ।
भगवान् बुद्धको यो मूर्ति चीनमा पहिले फेला परेको बुद्धको सबैभन्दा प्राचीन मूर्तिभन्दा २०० वर्ष पुरानो हो । यो मूर्ति गान्धार शैलीमा निर्माण गरिएको छ । गान्धार शैली पहिलो शताब्दीदेखि सातौं शताब्दी ईसापूर्वको बीचमा वर्तमान पश्चिमोत्तर पाकिस्तान तथा पूर्वी अफगानिस्तानमा विकसित भएको कलाशैली हो । उक्त क्षेत्र पहिले गान्धार शैलीको गढ मानिन्थ्यो । समाचारमा जनाइएअनुसार बुद्धको यो शैलीको प्राचीन मूर्ति चीनको पश्चिमोत्तर प्रान्त शांक्सीमा खोजिएको हो ।
शांक्सी प्रान्तमा पहिले विश्व प्रसिद्ध टेराकोटा आर्मीको मूर्ति फेलापरेको थियो । सैनिकहरुको पूर्णकदका ती मूर्ति १९७० मा पत्ता लागेका थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार ताजा उत्खनन जुन २०२० देखि नोभेम्बर २०२१ को बीचमा भएको थियो । उक्त उत्खननका क्रममा ३,६४८ वटा मकबरा फेला परेको र ती ४७५ ईसापूर्वदेखि २२१ ईसापूर्व निर्माण भएको बताइएको छ ।
उक्त उत्खननको नेतृत्व गर्ने पुरातत्त्वबिद ली मिङ भन्छन्, ‘फेला परेका समाधिमा बढीजसो समाधि तत्कालीन राजाहरुका नातेदार, वरिष्ठ अधिकारिहरु तथा अतिथिहरुको छ । यो उत्खननबाट अहिलेसम्म १६,००० सांस्कृतिक अवशेष फेला परिसकेको छ जसमा भगवान् बुद्धका दुई मूर्ति पनि छन् । उत्खननमा फेला परेको शाक्यमुनि बुद्धको मूर्ति ४ इन्च अग्लो छ भने तथागतको मूर्ति ६ इन्च अग्लो छ ।’
प्रतिक्रिया