जनवर्गीय संगठनका प्रमुखहरुले भने– पार्टीमा प्रचण्डको विकल्प छैन

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का भातृ संगठनका प्रमुखहरुले पार्टीको राष्ट्रिय सम्मेलनमार्फत लिईने नीति र विचारले नै देशलाई डोर्याउने बताएका छन् । उनीहरुले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसिएलका अध्यक्ष सुमन देवकोटा र मजदुर संगठनका प्रमुख जगत सिम्खडाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पार्टीका उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिम्खडाले राष्ट्रिय सम्मेलनपछि आफ्नो पार्टी नेपालकै पहिलो समाजवादी पार्टी बन्ने बताए । ११ गतेबाट सुरु हुने प्रथम सम्मेलनमा अध्यक्ष प्रचण्डले पेस गर्ने दस्तावेजमा बहस तथा छलफल हुने पनि जानकारी दिए ।

आफूहरुले सम्मेलनपछि रणनीती र कार्यनितिको हिसाबले समाजवादको नारालाई कार्यान्वयन गर्ने पहिलो पार्टी माओवादी बनाउने पनि उनले बताए । प्रचण्डले बोकेको एजेण्डामा नै मुलुक ०५२ सालदेखि आजसम्म अघि बढिरहेको उनले जिकिर गरे । प्रचण्डले बनाएको कार्यदिशानुसार आज देश अघि बढिरहेको उल्लेख गर्दै सिम्खडाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि प्रचण्डकै एजेण्डा भएको दाबी गरे ।
प्रचण्डले हिजोको दिनमा समावेशीताको मुद्दा उठाउँदा दलित, महिला, जनजातिहरुलाई व्यंग्य गर्ने खालका नेताहरु पनि त्यतिवेला धेरै रहेको स्मरण गराए । सिम्खडाले अब समृद्धिको मुद्दामा प्रवेश गरेर सम्मेलनले समाजवाद उन्मुख नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न रणनीति पनि तय गरिने जनाए । उनले माओवादी आफैमा रुपान्तरणसहितको माओवादी भएर जनताको बीचमा जाने र सम्मेलनले आगामी १० वर्ष माओवादीले नै देशको नेतृत्व गर्ने नीति तय गर्ने पनि दाबी गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष सिंहले आगामी पुस ११ देखि १३ गतेसम्म हुने हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलन विचारको सम्मेलन हुने बताईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पार्टीको दस्तावेज लेखन र यसलाई अन्तिम रुप दिन व्यस्त रहेको समेत सिंहले जानकारी दिईन् । प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजलाई प्रतिनिधिहरुका बीचमा छलफल गरेर मुर्तरुप दिईने पनि उनले बताईन् ।

अब माओवादी नयाँ कार्यदिशा बोकेर जनतामाझ जाने उनको भनाई थियो । उनले माओवादी हरायो, कमजोर भयो र चुक्यो भन्नेहरुलाई पनि यो राष्ट्रिय सम्मेलन नै जवाफ दिने पनि बताईन् । कुनै समयमा नेपाली कांग्रेस ठुलो पार्टी बन्यो, कुनै समय माओवादी ठुलो बन्यो भन्दै उनले आखिर जुन ठुलो पार्टी बनेपनि माओवादी र त्यसमा पनि प्रचण्डको एजेण्डामा हिँडेको दाबी गरिन् ।

उनले देशमा तत्कालिन अवस्थामा विद्यमान रहेको सामन्ती व्यवस्था राजतन्त्रलाई फाल्नको लागि नै आफ्नो पार्टीले जनयुद्ध गरेको पनि स्मरण गराईन् । उनले ०५२ सालमा अध्यक्ष प्रचण्डले सुरुवात गरेको विद्रोह आज सफल भएको पनि दाबी गरिन् । अध्यक्ष प्रचण्डले राज्यले एउटै धर्म बोकेर हिँड्न हुँदैन भनेर आवाज उठाएकै कारण आज मुलुकमा धर्मनिरपेक्षता आएको पनि बताइन् । मुलुकमा भएका सबैखाले परिवर्तन र अग्रगमनकारी एजेण्डा माओवादीकै कारण हाँसिल भएको भन्दै यसमा माओवादी नै हकदार भएको पनि अध्यक्ष सिंहले स्पष्ट पारिन् ।

प्रतिक्रिया