पार्टीभित्र प्रचण्डको विपक्षमा बोल्ने हिम्मत कस्को ?

नेपालखोज २०७८ पुष ९ गते ९:२९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पहिलो राष्ट्रिय सम्मेलन गर्दै छ । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने महाधिवेशन गरिसके ।

संसद्मा प्रतिधित्व गर्ने तेस्रो ठूलो दल माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्दै छ । विभिन्न पार्टीमा नयाँ र युवा नेतृत्वको आवश्यकता रहेको नेताहरू बताउने गर्छन् । तर, बाराम्बर मूल नेतृत्वमा पुरानै अनुहार अझ भनौं एक पदमा जिन्दगीभर बस्न चाहनेको संख्या पनि नेपाली राजनीतिमा उल्लेख्य छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र कांग्रेस सभापतिमा शेरबहादुर देउवा नै दोस्रोपटक पनि नेतृत्वका लागि निर्वाचित भए । यता राप्रपामा भने कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनले नेतृत्वको बागडोर सम्हालेका छन् । तीनै पार्टीमा नेतृत्वका लागि महाधिवेशनको धेरै समय अघिदेखि नै रस्साकस्सी सुरु भएको थियो । तर, माओवादी केन्द्रको नेतृत्वका लागि अहिलेसम्म कोही नेता पनि इच्छुक देखिएका छैनन् । सायद पार्टीभित्रका नेताहरू प्रचण्डबाहेकले नेतृत्व गर्नसक्ने क्षमतावान् पात्र नै पहिल्याएका छैनन् ।

माओवादी खुला राजनीतिमा आउँदा एमालेको नेतृत्व माधवकुमार नेपालले गरिरहेका थिए । पछि झलनाथ खनालले नेतृत्व सम्हाले । अहिले दोस्रो कार्यकालका लागि केपी ओलीको हातमा नेतृत्व छ । माओवादी शान्तिप्रक्रियामा कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाको काँधमा थियो । गिरिजाप्रसादपछि पार्टीको नेतृत्वमा दिवंगत सुशील कोइरालामा सर्दै अहिले शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि हालै सभापतिमा चुनिएका छन् ।

प्रमुख पार्टीहरूमा दुई पटकसम्म नयाँ अनुहारले नेतृत्वको बागडोर सम्हालेको नेपाली राजनीति वृत्तलाई थाहै छ । तर, माओवादीको नेतृत्वमा प्रचण्डको विकल्प अहिलेसम्म कोही देखिएको छैन । प्रचण्डलाई चुनौती दिन कोही पनि नेता अघि सर्न सकेका छैनन् ।

२०६३ मा शान्तिप्रक्रियामा आउँदा माओवादी पार्टी अध्यक्ष प्रचण्ड पार्टीको सुप्रिमो कमान्डर थिए । उनले जे भन्यो, त्यही नै पार्टीको अन्तिम निर्णय हुने गथ्र्यो । २०६५ सालमा जनमोर्चासँग एकता भएर एकीकृत नेकपा माओवादी बन्यो । २०६९ फागुनमा तत्कालीन एकीकृत माओवादीले सातौं महाधिवेशन गर्दै प्रचण्डलाई नै अध्यक्षमा निरन्तरता दियो । २०७१ सालमा भएको माओवादीको सम्मेलनले पनि अध्यक्षमा प्रचण्डलाई नै चुन्यो । २०७२ मा एकीकृत माओवादीलाई नेकपा माओवादी केन्द्र बनाइयो ।

राजनीतिक क्रमको विकाससँगै प्रचण्ड ३ दशकदेखि नेतृत्वको मूल ठाउँमा छन् । उनको पार्टीको नाम पटकपटक परिवर्तन भयो तर नेतृत्व परिवर्तन कहिल्यै भएन । जुन समयमा पनि प्रचण्ड नै हावी भएपछि माओवादीमा उनीदेखि बाहेकका नेताको अध्यक्ष बन्ने योग्यता नभएको देखिन्छ । प्रचण्ड एकलौटी रूपमा पार्टीमा सर्वेसर्वा हुने कुटिल बुद्धिले पनि पार्टीमा उनको निरन्तरता भएको हो ।

प्रचण्डदेखि बाहेकका नेताले अध्यक्ष दाबी गरे पार्टी नै छोड्नुपर्ने स्थिति आउन सक्ने भएकाले पनि विकल्पमा कोही पनि सार्वजनिक हुन नसकेका राजनीतिक विश्लेषकहरू बताउँछन् । डा. बाबुराम भट्टराईले नेतृत्वमा कहिल्यै पुग्न नसक्ने बुझेर पार्टी छोडेर हिँडेको विश्लेषकहरू बताउँछन् ।

कतिपयले प्रचण्डको विपक्षमा कोही पनि माओवादी नेताको बोल्ने हिम्मत नै नभएको टिप्पणी गर्ने गर्छन् । थुप्रै माओवादी नेताहरूले राष्ट्रिय सम्मेलन नजिकिएसँगै प्रचण्ड नभए देश नचल्ने बताउने गरेका छन् । उनीहरूले सम्मेलनको मुखमा प्रचण्डलाई फकाएर पद हत्याउन पनि गुणगान गाएको हुन सक्छ ।

एमालेका ओली र कांगे्रसका देउवाको विपक्षमा खुलेरै उम्मेदवारी दिनेहरू भेट्टिए । आज पनि दुवै पार्टीमा ‘ओली–देउवा’को खुलेर आलोचना गर्ने नेता प्रशस्तै छन् । तर, माओवादीमा चुनौती दिन त के प्रचण्डको विपक्षमा बोल्ने हिम्मतसम्म कसैले पनि गर्दैनन् ।

प्रचण्डको विपक्षमा कडा अभिव्यक्ति उनीसँगै काम गरेका सहकर्मीहरूले त दिएका छन् । तर संयोग के भने सबैले पार्टी छाडिसके । प्रचण्डसँग प्रतिस्पर्धा गरेर कोही पनि माओवादीमा टिक्न नसक्ने कतिपय नेताहरूको बुझाइ छ । किनभने जनयुद्घ लडेका थुप्रै कमान्डर पार्टी छाडेर गइसकेका छन् ।

प्रचण्डका थुप्रै कमान्डरहरू माओवादी उँभो नलाग्ने भन्दै अन्य पार्टीको कमान्डमा छन् । एमालेमा गएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत नेताले प्रचण्डलाई दिनहुँ जस्तो गाली गर्छन् । अन्य पार्टी खोलेर जाने नेत्रविक्रम चन्द, मोहन वैद्यहरूको आज पनि प्रचण्डसँग रिस उत्तिकै छ । उनीहरूले पार्टीभित्र प्रचण्डलाई चुनौती दिएर बस्न त सकेनन् नै, बाहिर गएर प्रचण्डका कमी–कमजोरी पनि केलाउन छाडेनन् ।

प्रचण्डको विपक्षमा कडा अभिव्यक्ति उनीसँगै काम गरेका सहकर्मीहरूले त दिएका छन् । तर संयोग के भने सबैले पार्टी छाडिसके ।

हाल ६७ वर्षीय प्रचण्ड माओवादी नेतृत्वको लागि एकमात्रै विकल्प भएको माओवादी नेताहरू स्वीकार्छन् । उनीहरूले अध्यक्ष बाहेकका पदमा पनि दाबी गर्छन् । तर, अध्यक्ष प्रचण्डकै लागि हो भन्ने ट्रेन्डलाई परिवर्तन गर्न सक्दैनन् ।

माओवादी शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आएको पार्टी हो । त्यसपछि सरकारको नेतृत्व गर्ने तहमा तीन पटकसम्म पुगेको छ । दुईपटक नेतृत्व प्रचण्डले गरे भने एकपटक हाल जनता समाजवादीमा रहेका डा. बाबुराम भट्टराईले गरे । लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिमा युवाको भूमिकाबारे चर्को आवाज उठाउने प्रचण्डलाई तीन दशक पार्टी नेतृत्वमा हुँदा पनि पुगेको छैन । उनी अझै पार्टीको सक्रिय राजनीतिमै रहेर अध्यक्ष बन्ने दाउमै छन् ।

नेपाली राजनीतिमा आफ्नो पद आर्यघाटसम्म लाने प्रचलन छ । १७ हजार मानिसको बलिदान दिएर राजनीतिमा आएको पार्टीले नै जतिसुकै लोकतान्त्रिक र नेतृत्व परिवर्तनको कुरा गरे पनि व्यवहारमा देखाउन सकेको छैन । राजतन्त्रमा एक शासन प्रणाली हुन्छ, एकै परिवारले शासन गर्छ भनेर गणतन्त्रको चर्को नारा घन्काउने माओवादीको नेतृत्व गर्ने क्षमता एकभन्दा बढीमा नभएको नै देखिएको छ ।

प्रतिक्रिया